• सोमबार-५-१-२०८३/ 17-Monday-2026
  • 03:36:38

सुनछहरी झरनाको प्रारम्भिक उचाइ २१९ मिटर, विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

हर्क घर्ती मगर,असार २८,रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिका–४ सिउरीमा अवस्थित प्रसिद्ध सुनछहरी झरनाको प्रारम्भिक उचाइ २१९ मिटर रहेको तथ्य सार्वजनिक भएको छ। वडा नं. ४ कार्यालयले सञ्चालन गरेको ‘सुनछहरी झरनाको विस्तृत अध्ययन तथा प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत तयार गरिएको प्रतिवेदन शनिबार सार्वजनिक गर्दै झरनाको थप प्राविधिक अध्ययन आवश्यक रहेको जनाएको छ ।

वडा कार्यालय र क्रिस्ट इन्जिनियर्सबीच भएको सम्झौताअनुसार गत असार २२ गते झरनाको स्थलगत अध्ययन तथा उचाइ मापन गरिएको थियो। अध्ययनपछि तयार पारिएको २२ पृष्ठ लामो प्रतिवेदनमा झरनाको प्रारम्भिक उचाइ २१९ मिटर रहेको उल्लेख गरिएको छ। यद्यपि झरनाको यकिन उचाइ तथा अन्य प्राविधिक पक्षबारे थप विस्तृत अध्ययन आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले सुनछहरी झरनाको पर्यटन पूर्वाधार विकासमा हालसम्म विभिन्न चरणमा करिब एक करोड रुपैयाँ लगानी भइसकेको जानकारी दिए। उनले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै अध्ययन प्रतिवेदनले आगामी पर्यटन विकासका योजना कार्यान्वयनमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वडा नं. ४ का अध्यक्ष हर्कराम बुढामगरले न्यून बजेटमा झरनाको प्रारम्भिक विस्तृत अध्ययन सम्पन्न गरिएको बताए। उनले आगामी आर्थिक वर्षमा थप गहन अध्ययन तथा पर्यटन पूर्वाधार विकासका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको जानकारी दिनुभएको थियो ।

यसैबीच सुनछहरी झरनाको संरक्षण, संवर्द्धन र पर्यटन विकासलाई व्यवस्थित रूपमा अघि बढाउन निवर्तमान वडा अध्यक्ष खड्कबहादुर घर्तीमगरको संयोजकत्वमा ‘सुनछहरी झरना संरक्षण तथा प्रवर्द्धन समिति’ गठन गरिएको छ ।

समितिका संयोजक घर्तीमगरले झरनाको संरक्षण र दिगो पर्यटन विकासका लागि आवश्यक नीति–नियम निर्माण गर्दै सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय तहको पहलमा गरिएको अध्ययन, संरक्षण तथा पूर्वाधार विकासका कार्यक्रमले सुनछहरी झरनालाई रोल्पाको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तिजको रौनक बढाउँदै प्रेम संगमको ‘मै कस्ती भाकि छु’ सार्वजनिक

टेकमन बिष्ट क्षेत्री,साउन १८,रोल्पा — प्रेम संगमको शब्दमा तिज गीत ‘मै कस्ती भाकि छु’ भन्ने नामक गित(भिडियोसहित) सोमबार सार्वजनिक गरिएको छ

थबाङ गाउँपालिकाले जलजला मेला पूजा व्यवस्थापनका लागि गोप्य शिलबन्दी दरभाउ आह्वान

टेकमन बिष्ट असार २५, रोल्पा  । रोल्पाको थबाङ गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालन हुने जलजला मेला पूजा व्यवस्थापन का लागि गोप्य

सुनछहरीको काखबाट चौरी बुकी (चुङरी लेक) सम्म: ओझेलमा परेको एउटा लोभलाग्दो ट्रेकिङ गन्तव्य

जुनिश कुमार बिष्ट,असार २५,रोल्पा । ​रोल्पाको सुदूर कुना, जहाँ प्रकृतिको सुनौलो किरण सबैभन्दा पहिले ओर्लिन्छ— त्यो हो सुनछहरी । जैविक विविधता, मगर र