• सोमबार-५-१-२०८३/ 17-Monday-2026
  • 03:36:14

कोटलबाराका पहिरोपीडितलाई विभिन्न निकायबाट राहत वितरण

टेकमन बिष्ट क्षेत्री,साउन ३१,रोल्पा ।

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएको विनाशकारी पहिरोबाट प्रभावित परिवारलाई विभिन्न संघसंस्था तथा सहयोगी निकायले राहत सामग्री वितरण गर्न थालेका छन् ।

पहिरोले बस्ती नै बगाउँदा ठूलो मानवीय क्षति भएपछि पीडित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहत तथा सहयोग जुट्न थालेको हो । बुधबार गएको पहिरोमा परी ठूलो जनधनको क्षति हुनुका साथै ९ घर, एक पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना बगेका छन् । घटनापछि कोटलबारामा शोक र त्रासको अवस्था रहेको छ । विस्थापित तथा प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, गैरखाद्य सामग्री तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता बढेको छ ।

घटनालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिंह पुनमगरको नेतृत्वमा गएको टोलीले १० घरपरिवारलाई गैरखाद्य सामग्रीका प्याकेज वितरण गरेको छ। राहत प्राप्त गर्ने परिवारमा भागिमान पुनमगर, अनरा पुनमगर, जयबहादुर पुनमगर, बनसी घर्तीमगर, दिलपुरा घर्तीमगर, सञ्जय घर्तीमगर, मेकबहादुर रोकामगर, काले पुलमगर र उज्याल पुनमगरलगायत रहेका छन् । सभापति पुनमगरले सुनछहरी गाउँपालिका–१ र २ का पहिरोपीडित परिवारलाई पोवाङ शाखामार्फत राहत वितरण गरिने जानकारी दिनुभएको छ ।

त्यस्तै, आईएनएफ नेपाल रोल्पा शाखाको टोलीले पनि कोटलबाराका सात घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ। रणबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले दाल, चामल, नुनलगायत खाद्यान्न तथा लत्ताकपडा गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको जनाएको छ ।

यसैबीच, लायन्स क्लब अफ रोल्पाले पनि पहिरो प्रभावित क्षेत्रका परिवारका लागि राहत सहयोग गरेको छ । शनिबार लायन्स क्लब अफ रोल्पाका निवर्तमान अध्यक्ष केशवकुमार आचार्यको नेतृत्वमा गएको टोलीले उवासम्म पुग्ने बाटो कठिन भएपछि सुनछहरी गाउँपालिका–१, सेरम फुलिबनमा उवाका कार्यपालिका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेको हो । लायन्स क्लबले खाद्यान्न तथा लत्ताकपडालगायत करिब ७० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ । फुलिबन क्षेत्रमा ठूलो वर्षाका कारण पहिरो निरन्तर चलिरहेको र उवा पुग्ने सडक तथा बाटो जोखिमपूर्ण रहेकाले राहत सामग्री जनप्रतिनिधिमार्फत प्रभावित परिवारसम्म पुर्‍याउने व्यवस्था गरिएको हो ।

बाढी–पहिरोको जोखिम कायमै

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको जोखिम अझै कायमै रहेको छ। पहिरोले सडक, पैदलमार्ग तथा अन्य संरचनामा समेत क्षति पुर्‍याएका कारण कतिपय प्रभावित बस्तीमा राहत तथा उद्धार टोली पुग्नसमेत कठिनाइ भइरहेको छ ।

स्थानीयवासीले जोखिममा रहेका परिवारको तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा प्रभावित परिवारलाई खाद्यान्न, आवास र स्वास्थ्य सेवासहितको आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

विपद्को समयमा विभिन्न संघसंस्था तथा सहयोगी निकायबाट प्राप्त राहतले पीडित परिवारलाई तत्काल केही सहजता भए पनि आफ्नो घर तथा सम्पत्ति गुमाएका परिवारको दीर्घकालीन पुनःस्थापना र सुरक्षित आवासको व्यवस्था चुनौतीपूर्ण बनेको छ। त्यसैले राहत वितरणसँगै जोखिममा रहेका बस्तीको पहिचान, सुरक्षित स्थानमा स्थानान्तरण, अस्थायी आवास तथा दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिएको छ ।

कोटलबाराको विपत्तिले प्राकृतिक प्रकोपको जोखिममा रहेका बस्तीको पूर्वतयारी र सुरक्षित बसोबासको आवश्यकता झनै गम्भीर रूपमा देखाएको छ । प्रभावित परिवारलाई तत्काल राहतसँगै आगामी दिनमा यस्तो विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकार, सुरक्षा निकाय, रेडक्रस, गैरसरकारी संस्था तथा अन्य सहयोगी निकायबीच समन्वय आवश्यक देखिएको छ ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा भू–क्षयको जोखिम अझै कायमै रहेकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन् । वर्षाका कारण सडक तथा पैदलमार्गसमेत जोखिमपूर्ण बनेकाले अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न तथा कुनै समस्या देखिएमा तत्काल स्थानीय प्रशासन, सुरक्षा निकाय वा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सुनछहरीमा पाँच दिन विद्यालय बन्द रहने

जलजला प्रेस,भदै १,रोल्पा —  सुनछहरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका

रोल्पाको राङ्सीमा वन्यजन्तुको आतंक, किसानको मकैबालीमा क्षति

लोकेन्द्र के:सी ,साउन ३१ । रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा वन्यजन्तुको आतंकका कारण किसान समस्यामा परेका छन् । दिउँसोको समयमा बाँदर र

रोल्पाको इतिहास समेटिएको पुस्तक ‘रोल्पाको इतिहास’ सार्वजनिक

टेकमन बिष्ट क्षेत्री,साउन ३१,रोल्पा । रोल्पा जिल्लाको ऐतिहासिक पृष्ठभूमि, राजनीतिक घटनाक्रम तथा सामाजिक–आर्थिक अवस्थालाई समेटिएको ‘रोल्पाको